लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो

शाख न्यूज    प्रकाशित: २०८२-४-२९ गते   ६७ पटक हेरिएको

नेपालगन्ज । नेपालगन्ज बजारमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट गएको टोलीले नेपालगन्ज-४ बसपार्क नजिक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

चार जना भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीहरुले लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएका असई नवीन शाहीमाथि चक्कु र सिसाको बोटलले आक्रमण गरेपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाएको बताएको छ ।

प्रहरीले चालएको गोली लागेर एक लागुऔषध कारोबारी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।  खुट्टामा गोली लागेर घाइते भएका लागुऔषध कारोबारीलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले चार जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पक्राउ परेका र गोली लागेका घाइते कारोबारीको नाम अझै प्रहरीले सार्वजनिक गरेको छैन । घटना आज मध्यान्ह करीब १२.३० बजे भएको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech