दुई कार एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु, ६ जना घाइते

शाख न्यूज    प्रकाशित: २०८३-७-७ गते   ७७ पटक हेरिएको

नेपालगञ्ज - बाँकेको राप्तीसोनारीमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ सौंरीमा शनिबार बिहान करिब ९ बजे दुई कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठोरका अनुसार शाहीको दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा टेकबहादुर सवार कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ का ४५ वर्षीय नरेन्द्रबहादुर शाही, ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही घाइते भएका छन् । नरेन्द्रको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकलमा उपचार भइरहेको छ भने कुसुम र सुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी पनि घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उक्त कारका चालक घोराही–७ सौडियारका ४० वर्षीय सम्राटनाथ योगीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार दाङको घोराहीबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार र विपरीत दिशाबाट पूर्वतर्फ जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार सौंरीमा ठोक्किएका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech