कंचनपुर १२ असार - अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका वडा नं.–१ मा सन्देशमूलक र्यालीसहितको जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। बैजनाथ बाल क्लबको अग्रसरतामा वडा कार्यालयको सहकार्यमा दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको र्याली पहरियास्थित वडा कार्यालयमा पुगेर समापन भएको हो।
हामी बाल अधिकार र बाल संरक्षणमा सक्रिय छौं त्यसैले समुदायमा लागुऔषधविरुद्धको सचेतना फैलाउनुका साथै समाजलाई सुरक्षित, स्वस्थ र बालमैत्री बनाउने लक्ष्य बोकेको क्लबका उपाध्यक्ष अम्बादत्त जोशीले जानकारी दिएका छन् ।
उनका अनुसार वडालाई सन् २०२६ (वि.सं. २०८३) सम्ममा पूर्ण रूपमा बालमैत्री वडा घोषणा गर्ने योजना अघि सारिएको छ। सोही सन्दर्भमा शुक्रबार बिहान ७ बजे पुनः अर्को चरणको सचेतनामूलक कार्यक्रम संचालन गरिने भएको छ । कालीका माध्यमिक विद्यालयबाट सुरु भई उदय माध्यमिक विद्यालय बंक चोक हुँदै वडा कार्यालयमा समापन गरिने उपाध्यक्ष जोशीले जानकारी दिए ।
कृष्णपुर–१ मा आयोजित यो सचेतनामूलक र्याली केवल एक औपचारिक गतिविधिमा सीमित नभई, बालमैत्री समाज निर्माणतर्फको प्रतिबद्धताका साथै बाल अधिकारको प्रवर्द्धन, युवावर्गको नेतृत्व विकास र समावेशी समुदाय निर्माणमा स्थानीय तहको भुमिका महत्त्वपूर्ण रहेको हुन्छ ।
र्यालीमा वडा नं. १ का जनप्रतिनिधिहरू, अस्थायी प्रहरी चौकी पहरियाका सुरक्षाकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले प्लेकार्ड, नाराबाजी तथा सूचना पम्प्लेटमार्फत लागुऔषधबाट टाढा रहन सबैमा आग्रह गरेका थिए। कार्यक्रममार्फत विशेषगरी किशोर-किशोरी, विद्यार्थी र युवावर्गलाई लक्षित गर्दै लागुऔषधको नकारात्मक असरबारे जानकारी प्रदान गरिएको थियोे ।