बाँके १२ असार - नेपालगन्जमा ३८ औं लागु औषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी सम्पन्न भएको छ । “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागु औषध दुरुपयोगविरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ नेपालगन्जमा ३८ औं लागु औषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी गरिएको छ ।
कार्यक्रममा बोल्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बाँके जिल्ला भारतीय सिमानासँग जोडिएको हुँदा लागु औषध भित्रिने तथा कारोबार हुने भएकाले नियन्त्रणकालागि सबैले मिलेर काम गर्नुका साथै लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घसंस्थाले एकजुट भएर युवा पुस्तालाई जोगाउन एकीकृत कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामप्रसाद घर्तिमगरले लागु औषधविरुद्ध प्रहरीले अभियाननै संचालन गरेर सिमा नाकादेखि कोहलपुरसम्म कडाइ गर्नुका साथै नियन्त्रणका उपायहरु अपनाइरहेको बताए ।
पछिल्लो समय सीमापारि भारतको रुपईडिहामा खुला रुपमा लागु औषध विक्री हुने गरेकोले पनि नेपालगन्ज लगायत जिल्लाका अन्य स्थानबाट रुपैडिहा पुगेर सेवन गर्ने तथा खरिद गरेर ल्याउनेहरु बढ्दै गएको पाइएको छ ।
नेपालगन्जमा बिहीबार आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, लागु औषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा सङ्घ सस्था, समाजसेवी, मिडियाकर्मीलगायतको उपस्थिति थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणबाट सुरु भएको सो प्रभातफेरी कार्यक्रम भेरी प्राविधिक शिक्षालयमा समापन गरिएको थियो ।