एक दिने निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुँदै

नेपालगन्ज उपमहानगरपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले विहान ८ बजेदेखि सुरु हुने शिविर अपरान्ह ३ बजेसम्म शनिबार संचालन हुने जानकारी दिए । उनले शिविरमा ५ सय जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको बताए ।

शाख न्यूज    प्रकाशित: २०८२-२-२९ गते   ४५८ पटक हेरिएको

बाँके - नेपालगन्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजनामा वडा नम्बर ४ गणेशपुरस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा एक दिने शिविरको शनिबार आयोजना गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले विहान ८ बजेदेखि सुरु हुने शिविर अपरान्ह ३ बजेसम्म शनिबार संचालन हुने जानकारी दिए । उनले शिविरमा ५ सय जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको बताए ।

डा. पुनका अनुसार शिविरमा पाचन प्रणाली सम्बन्धि समस्याहरु, अस्थिपञ्जर प्रणाली सम्बन्धि समस्या, स्नायु तथा मांशपेशी समस्या, मूत्र प्रणाली, श्वासप्रश्वास, छाला लगायत समस्या भएका विरामीहरुलाई सेवा दिइनेछ ।

शिविरमा डा. पुन लगायत डा. सरोजमणि पोख्रेल, डा. प्रवेश श्रीवास्तव, डा. आलोक पाण्डे, डा. गिता रेग्मी, डा. कृष्ण चापागाई, डा. अकबर अली, डा. मनोज कुमार यादवले विरामीको स्वास्थ्य चेकजाँच गर्ने जनाइएको छ । उनीहरुलाई औषधि समेत उपलब्ध गराइने  उनले जानकारी दिएका  छन् ।

आयुर्वेद शाखाका अनुसार नेपालगन्जको जयसपुर, परसपुर र भवानियापुर आयुर्वेद औषधालयले कार्यालय समयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा निरन्तर उपलब्ध गराइरहेका छन् ।

प्रशासन अधिकृत इन्द्र बहादुर केसीले कार्यक्रम संचालन गरेका थिए । आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राई, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरुको उपस्थिति थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech