बाँके - बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । १८औं गणतन्त्र दिवसको अवसर पारेर प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका-७ पेडारी गाउँमा विहिबार नसर्ने रोगको स्क्रिनिङ्ग उपचार तथा प्राथमिक कान उपचार सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
उक्त शिविरमा १ सय ९७ जना सेवाग्राहीको सुगर, प्रेसर तथा कान सम्बन्धि समस्याको जाँच दक्ष तथा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेका अध्यक्ष जयराम पाण्डेले जानकारी दिए । शिविरबाट ४५ जना उच्च रक्तचाप, २० जना मधुमेह, कानको जाली प्वाल परेका ६ जना, कान कम सुन्ने ५ जना, कानमा फोहर भएका १५ जना बिरामी पत्ता लागेका थिए । कानको जाली प्वाल परेका ३ जनाको अपरेशनको लागि रिफर गरिनुका साथै सुगर तथा प्रेसरका बिरामीहरुलाई आवश्यक उपचार तथा परामर्श सेवा दिइएको थियो । स्वस्थ जिवनशैली र खानपान सम्बन्धि स्वास्थ्य शिक्षा पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन पूर्व उपसभामुख एवम् नेकपा माओबादी केन्द्र बाँके इन्चार्ज पुर्णा कुमारी सुवेदीले गरेकी थिइन् भने स्वागत मन्तब्य बैजनाथ-७ का वडा अध्यक्ष दिनेश थारुले गरेका थिए । साथै शुभकामना मन्तब्य महासंघका केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज मानव नेपालीले ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता महासंघका बाँके जिल्ला अध्यक्ष लंक बहादुर रोकायाले गरेका थिए । कार्यक्रममा महासंघसंग आबद्ध सेवा निबृत्त भएका स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा तह बृद्धि भएका स्वास्थ्यकर्मीहरुलाई बधाई पनि दिइएको थियो ।
कार्यक्रममा महासंघ बाँकेको टिम, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेको टिम, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेजका चिकित्सक, इन्टास नेपाल, नेकपा माओबादी केन्द्र बैजनाथ ईन्चार्ज, वडा नं ७ का वडा अध्यक्ष लगायतको सहयोग र सहकार्य रहेको थियो ।