बाँके - लुम्बिनी प्राविधिक विश्वविद्यालयले आगामी असार महिनाबाट स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत २०७९ असार १८ गते नेपालगन्जमा स्थापना भएर संचालनमा आएको विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहमा विद्यार्थीहरुलाई अध्यापन गराउने भएको छ ।
करिब डेढ वर्षसम्म नेपालगन्जमा रहेको प्रशासनिक भवनमै पढाइ गराउदै आएको विश्वविद्यालयले गत पुस महिनादेखि नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैङ्कको क्षेत्रीय कार्यालयको तीन वटा भवन भाडामा लिएर त्यहाँबाट पढाइ संचालन गरिरहेको छ ।
बैङ्कसँग पाँच वर्षका लागि उक्त भवनहरु भाडामा लिने गरी सम्झौता गरेको विश्वविद्यालयले लिएको छ । इन्जिनियरिङ तथा सूचना प्रविधिको डीनको कार्यालयसमेत यहीँबाट संचालन भएको छ ।
आर्थिक वर्ष ०८०/८१ बाट इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थाअन्तर्गत स्नातक तहमा विभिन्न चार वटा कार्यक्रममा अध्यापन गराउदै आएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारीले स्नातकोत्तर तहको पढाइका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी जानकारी दिएका छन् ।
आर्थिक वर्ष ०८०/८१ बाट विभिन्न चार वटा कार्यक्रममार्फत स्नातक तहको अध्यापन गराउनका साथै आगामी असार महिनाबाट स्नातकोत्तर तहको पनि अध्यापन सुरु हुने कुल सचिव भण्डारीले बताएका छन् ।
आवदेनका लागि सूचना प्रकाशित भएपछि ३८ जना विद्यार्थीहरुले आवेदन भरेका छन् भने यही जेठ १७ गते प्रवेश परीक्षा लिएर असारबाट नियमित पढाइ सुरु हुने कुल सचिव भण्डारीले जानकारी दिएका छन् ।
विश्वविद्यालयले स्नातकोत्तर तहमा एम.टेक.इन.आइटी र एम.टेक.इन.कम्प्युटर साइन्सको पढाइ सुरु हुने कुलसचिव भण्डारीका बताए ।
एम टेक इन आइटीका लागि स्नातक तहमा बिसीए, बिआइएम, बिआइटी, आइसीटी एजुकेशन र बिबिआइएस उत्तीर्ण गरेका विद्यार्थीले पढ्न पाउँछन् भने एम टेक इन कम्प्युटर साइन्सका लागि स्नातक तहमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण गरेका पढ्न पाउने कुलसचिव भण्डारीले जानकारी दिए ।
दुई वटै कार्यक्रमका लागि पहिलो वर्ष १५–१५ जनाको कोटा भएता पनि आवेदन दिने विद्यार्थीको सङ्ख्या धेरै भएका कारण २०–२० जना अध्यापन गराउने कुलसचिव भण्डारीले भनेका छन । जनशक्ति, प्रयोगशाला तथा पाठ्यक्रम लगायत सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी समेत उनले दिएका छन् ।
२०८० साल मङ्सिर १३ गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातक तहको पढाइ सञ्चालन गरेको विश्वविद्यालयले हाल बिटेक इन आइटी, बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई, बिटेक इन आइटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङ गरी चार वटा कार्यक्रम अध्ययन अध्यापन गराइरहेको छ । विश्वविद्यालयमा हाल १ सय ६५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । पहिलो ब्याचका विद्यार्थीहरुले अहिले चौथो सेमेस्टरमा अध्ययन गर्दैछन् । आठ सेमेस्टरको कक्षा सञ्चालन हुने कार्यक्रमहरु सबै चार वर्षे रहेका छन् ।
गुणस्तरीय शिक्षा, उपलब्धिमूलक शिक्षा, जागिर सुनिश्चितसहितको शिक्षा तथा समाजका लागि उत्तरदायी विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रदान गर्ने लक्ष्य लिएको विश्वविद्यालयले स्थापनाको छोटो समयमै स्नातकोत्तर तहको अध्यापन संचालन गरिएको हो ।