काठमाडौं २५ भदौ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध अब लेख्न र बोल्न नपाइने भएको छ। नेकपा कार्यदलको प्रतिवेदनमा यो कुरा उल्लेख गरिएको छ। केपी शर्मा ओलीको सरकार अधिनायकवादी शासन व्यवस्था लाद्न खोजिरहेको आरोप लागिरहेका बेला नेकपा पार्टीले नै आफ्ना नेता कार्यकर्ताविरुद्ध बोल्न पाउने रोक लगाएर अधिनायकवादी चरित्र प्रस्तुत गरेको छ। त्यतिमात्रै होइन पार्टीले नेता कार्यकर्ताविरुद्ध लेख्नेलाई घोक्रेढ्याक लगाउन कमरेडहरुलाई निर्देशन समेत दिएको छ। प्रतिवेदनको २.४ नम्बर बुँदामा लेखिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धती र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता अराजकता अनुशासनहिनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ।
पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरित गतिविधि गर्ने प्रवृत्तिलाई कडाईका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्द्धछ।’ यो निर्देशनलाई सामाजिक सञ्जालमा नेकपामा नेताको आरती गर्न र भजन गाउन पाइने, गाली गर्न नपाइने भन्दै टिप्पणी भइरहेको छ। एमाले र माओवादी मिलेर बनेको नेकपामा दुबै पक्षका कार्यकर्ताले एकले अर्कोविरुद्ध टिप्पणी गर्दै आएका छन् । (साभार: नेपालपाना)