सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको २४औं स्थापना दिवस सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-२-२ गते   २११ पटक हेरिएको

बाँके - बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी जवान तालिम शिक्षालयले शनिबार आफ्नो २४औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठको अध्यक्षता एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहालको प्रमुख आतिथ्यतामा स्थापना दिवस समारोह सम्पन्न भएको थियो । एआइजी दाहालले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै एआइजी दाहालले सशस्त्र प्रहरीलाई बदलिँदो समयमा देखा परेका नयाँ चुनौतीहरुको सबल ढंगले सामना गर्न सक्षम बनाउने गरी अघि बढेको बताएका छन् । उनले सशस्त्र प्रहरीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताए । नौवस्ता तालिम शिक्षालयले सशस्त्र प्रहरी जवान उत्पादनमा उल्लेखनीय भूमिका खेलिरहेको भन्दै अनुशासित, इमान्दार र कर्तब्यनिष्ठ भएर काम गर्न उनले मातहत सबैलाई निर्देशन दिए । 

कार्यक्रममा कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्य, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति डीआइजी दिपेन्द्र कुँवर, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, नेपाली सेनाको ४ नम्बर बाहिनी इमामनगरका बाहिनीपति प्रशान्त विक्रम राणा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै सशस्त्र प्रहरी जवान उत्पादनमा शिक्षालयले खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

सशस्त्र प्रहरी जवान शिक्षालय नौबस्ताका अनुसार स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने र बिभिन्न विधातर्फको खेलमा विजयी हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । साथै स्थापना दिवसको अवसरमा आयोजित हाजिरीजवाफ र बक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत देखाइएको कार्यक्रममा प्रमुख अतिथि एआइजी दाहालले शान्तिको दुत परेवा उडाउनुका साथ केक पनि काटेका थिए । 

प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबाट अमर सशस्त्र प्रहरी सहिदहरुप्रति सम्मान प्रकट गर्दै सहिद स्मारकमा पुष्पगुच्छा अर्पण र बृक्षारोपण पनि गरिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि एआइजी दाहाललाई शिक्षालय प्रमुख श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech