नगरपालिकाको १२औं स्थापना दिवस सम्पन्न

कोहलपुर नगरपालिकाले २०८०/८१ म एसईई र विएलई मा उत्कृष्ट १५ जनालाई सम्मानित गरेको हो ।

शाख न्यूज    प्रकाशित: २०८२-१-२५ गते   २४७ पटक हेरिएको

बाँके - कोहलपुर नगरपालिकाको १२औं स्थापना दिवस सम्पन्न भएको छ। नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बिहिबार भएको थियो। 

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि  मन्त्री तिमिल्सिनाले सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य र रोजगारीमा कोहलपुर नगरले देखाएको अग्रसरता सराहनीय रहेको हुँदा कोहलपुरलाई लुम्बिनी प्रदेशको नमूना नगरपालिका बनाउने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

स्वागत मन्तव्य राख्दै नगर सरकार गठनपछि नगरवासीको पहुँचमा शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवाहरू सहज रूपमा पुगेको उल्लेख गर्दै आगामी दिनमा महिलामैत्री र बालमैत्री नगर निर्माणमा नगर कार्यपालिकाले अझ प्रभावकारी कार्यक्रम अघि सार्ने  कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले बताइन्।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले  नगरको योजना, आयोजनाको पारदर्शिता र अनुगमन प्रणालीलाई अझ मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा संविधानसभा सदस्य देवराज भार, लुम्बिनी प्रदेशसभा सदस्यहरु कृष्णा केसी नमुना, सञ्जु कुमारी चौधरी र बसन्ती अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारी, एमाले कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, भूमि समस्या समाधान आयोग बाँके अध्यक्ष घननाथ खनाल, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले कोहलपुर नगरपालिकाले समातेको लयको सराहना गर्दै स्थापना दिवसको शुभकामना दिएका थिए ।

नगरपालिकाको १२ औं स्थापना दिवसमा सामुदायिक र सस्थागत विद्यालयका उत्कृष्ट १५ जना बिद्यार्थीहरु सम्मानित भएका छन् । कोहलपुर नगरपालिकाले २०८०/८१ म एसईई र विएलई मा उत्कृष्ट १५ जनालाई सम्मानित गरेको हो ।

एसईईमा सम्मानित हुनेमा सामुदायिकतर्फ त्रिभुवन माविका प्रतिक शर्मा (३.९५ जिपीए), पवन पोख्रेल (३.८३ जिपीए र संस्थागततर्फ पञ्चमुखी ईमी स्कुलका सुमित यादव (३.८६ जिपीए ), गोर्खा यूनाईटेड पब्लिक स्कुलका लक्ष्मी घर्ती (३.०९ जिपीए) ल्याएका थिए ।

यस्तै विएईमा सम्मानित हुने सामुदायिक तर्फ त्रिभुवन मावि आशिका थापा ( ३.९६ जिपीए), ज्ञानज्योति मावि चप्परगौडीका मनोज पुन (३.८६ जिपीए), नेरामावि चटारका एलिस वली (३.९३ जिपीए) र त्रिभुवन माविका गुरास चन्द (३.०९ जिपीए) ल्याएका छन् ।

यस्तै विएईमा सम्मानित हुने संस्थागत तर्फ २०८१ मा पञ्चमुखी स्कुलकी बन्दना खड्का (३.९७ जिपीए), ब्रिज इन्टरनेशनलकी रितु लावद (३.९७ जिपीए), बालज्योति माविकी पुनम शर्मा (३.९७ जिपीए) र डाइनामिक माविकी स्नेहा अधिकारी (३.९७ जिपीए) प्राप्त गरेकी छिन् ।

संस्थागत तर्फ २०८० मा गोर्खा यूनाईटेडमा अध्यनरत आभाष खत्री, अभ्यस्त केसी र डाइनामिक माविकी एन्जिला पुन (४ जिपीए) उत्कृष्ट भएका थिए ।

कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार तथा पत्रकार प्रीयास्मृती ढकालले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी बुद्धिजीवी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, संचारकर्मी लगायत नगरबासीहरुको समेत उपस्थिति रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech