बाँके - जानकी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि जग्गा नापजाँचको काम शुरु गरेको छ। जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका जग्गा नापजाँचको कामलाई शुरु गरिएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । केन्द्रिय सरकारको पटक पटकको फेरबदल र भुमि आयोगको विघटनले नापजाँच काम रोकिएको थियो उनले भने ।
बुधवार वडा नं ५ रामगाउँमा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै अध्यक्ष खाँले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाए ।
‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ, उनले भने–‘अब ढुक्क हुनुहोस् तपाईंले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईं नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरुलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’
जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवले भूमिहीन समस्यालाई अब दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडाबासीले सहयोग गर्नुपर्ने बताए ।
वडा नं ५ मा करीव ६०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको जानकी गाउँपालिकाका भुमी शाखाका सर्वेक्षक गोकुल यादवले जानकारी दिए ।
जग्गा नापजाँच कार्यको सुभारम्भमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकुत नर वहादुर विक , कार्यपालिका सदस्य ,वडा सदस्य , योजना शाखाकी प्रमुख शोभा पौडेल ,भुमि समस्या समाधान आयोगका जिल्ला बाँकेका अध्यक्ष घननाथ खनाल ,तलत प्रविण खान सदस्य ,सदस्य सचिव नापी अधिकुत बाँकेका प्रमुख गुनेश्वर यादव , भुमी शाखाका प्राविधिक कर्मचारीहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।