बाँके - भेरी अस्पताल नेपालगन्जमा जलन वार्डबाट सेवा सुरु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विंगको उद्घाटन गरेका हुन् ।
अस्पतालको नयाँ भवनमा ६ शैयाको जलन वार्ड र १४ शैयाको सर्जिकल विंग सञ्चालनमा आएको छ। यससँगै अब अग्निपीडित बिरामीको उपचारमा सहजता आउने जनाइएको छ।
उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले भेरी अस्पतालले आफ्ना सेवाहरु विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै आमनागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन अस्पतालले आफ्ना सेवाहरु विस्तार गरिरहेकाले भेरी अस्पताललाई मन्त्रालयले सहयोग गर्दै आएको छ, साथै आगामी दिनमा पनि सहयोगका लागि प्रतिवद्धता जनाएका छन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिबारे जानकारी दिएका थिए । त्यसक्रममा उनले १३ वटा सेवा विस्तार गरिएको बताए । ‘सीमित स्रोतसाधनका बीच आवश्यकताका आधारमा हाम्रा सेवाहरुलाई विस्तार गराउने काम भइरहेको छ उनले भने-‘अस्पतालमा आउने विरामी उपचारका लागि फर्किन नपरोस् भन्ने हाम्रो चाहना छ ।’
कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव समेत रहेका पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी लगायत स्वास्थ्यकर्मीहरुको समेत उपस्थिति रहेको थियोे। सोही अवसरमा मन्त्री पौडेलले सिकलसेल र थालेसिमिया रोगीहरूलाई संक्रामक रोगबाट जोगाउन भेरी अस्पताललाई निःशुल्क खोप समेत हस्तान्तरण गरेका छन् ।
