पलिकाले धानको मूल बीउ उत्पादन गरी १ सय ४२ क्विन्टल उन्नत जातको बीउ भण्डारण

शाख न्यूज    प्रकाशित: २०८२-१-७ गते   १६८ पटक हेरिएको

बाँके -  डुडुवा गाउँपलिकाले किसानलाई बीउ वितरण गर्न धानको मूल बीउ उत्पादन गरी १ सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । 

उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेर करिब २ सय २ हेक्टर क्षेत्रफललाई बीउ पुग्ने गरी तयार भएकालेे आफ्नै किसानसँग रु ५ लाख ६८ हजार बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन पालिकाले गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले जानकारी दिएका छन् । 

धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने र किसानलाई बीउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताएका छन् । 

आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण गरि पहिलो पटक धानको बीउ उत्पादन गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । 

२ सय ४० क्विन्टल गहुँ  खरिद गरि किसानका मागका आधारमा थप वृद्धि गर्नका साथै  अहिले गहुँ भित्र्याउने समय रहेकाले अब केही दिनमा खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने  कृषि शाखा प्रमुख शर्माले भनेका छन् ।

पालिकाका करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जानकारी दिए ।

बीउ उत्पादन तथा भण्डारणपछि स्थानीय किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गरि आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको अध्यक्ष चौधरीले बताएका छन् । 

पालिकाले बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा गाउँपालिका वडा नम्बर –२ मा ७ सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech