प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फुटसल भवनको शिलान्यास

शाख न्यूज    प्रकाशित: २०८१-१२-२३ गते   १२०९ पटक हेरिएको

बाँके — नेपालगन्ज पौडी क्लबको समन्वयमा शिखा एकेडेमी कोहलपुरले प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको आयोजना गरेको थियो । कोहलपुर–८ पिपरी (नयाँ बस्ती) स्थित शिखा एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगिताको २९ इभेन्टमा आयोजक शिखाले ६६ अंक ल्याएर उपाधि जितेको हो ।

प्रतियोगितामा सर्वाधिक ५ वटा स्वर्ण पदकका विजेता सुशान्त बोहोरालाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो । खेलाडी बोहोराले आफूले प्रतिस्पर्धा गरेका ५ वटै इभेन्टमा स्वर्ण पदक जितेका थिए ।

नेपालगन्जको स्प्रिङ डेल स्कुुल ४४ अंक ल्याएर दोस्रो र १७ अंक ल्याएर आदर्श माध्यमिक विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा बाँके जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहे पनि ७ वटा विद्यालयले मात्र स्वर्ण जितेका थिए ।

नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, नेपालगन्ज पौडी क्लबका अध्यक्ष केशव न्यौपाने, लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व उपाध्यक्ष नरेन्द्र थापा, विद्यालयका सिइओ डा. राज कुमार सुवेदी, पत्रकार शंकर प्रसाद खनाल, अतिरिक्त क्रियाकलाप संयोजक सूर्यमणि अधिकारी लगायतले विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

शिखा एकेडेमीले विद्यालय परिसरमै फुटसलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २५ मिटर चौडाई र ४२ मिटर लम्बाईको फुटसल निर्माण गरिने भएको छ । ५ बिघाको क्षेत्रफलमा रहेको विद्यालयमा बास्केटबल, क्रिकेट, फुटबल मैदान पनि रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारी लगायतले संयुक्तरुपमा फुटसल भवनको शिलान्यास गरेका हुन् । हामी विद्यार्थीलाई भार नपर्ने गरी पाठ्यक्रमको शिक्षा दिनुका साथै रुची अनुसार खेलकुद, गीतसंगीत, नृत्य र पब्लिक स्पिकिङ कलामार्फत उनीहरुको ज्ञान, सीप र क्षमता विस्तारको काम गरिरहेको सिइओ डा. सुवेदीले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech