होटल पौवाद्वारा नवौं वार्षिकोत्सवको अवसरमा चैत २५ गतेदेखि २९ गतेसम्म "स्वाद उत्सव" देशभरका शाखामा हुँदै

शाख न्यूज    प्रकाशित: २०८१-१२-२१ गते   ८९३ पटक हेरिएको

बाँके २२ चैत - होटल पौवाले नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सवको तयारी पूरा भएको जनाएको छ । नेपालगन्जमा पत्रकार भेटघाट गर्दै यही चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवको तयारी पूरा भएको जनाएको हो । वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव देशभरका शाखाहरूमा एकैसाथ संचालन हुने भएको छ ।

स्वाद उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । नवौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वाद उत्सव मनाउन लागेको हो ।

होटल पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खारता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने पौवाका सिईओ कृष्ण गौतमले जानकारी दिएका छन्।

उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको उनले जानकारी दिए । सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको निःशुल्क स्वाद लिन पाउने गरी ब्यवस्था मिलाइएको गौतमले बताएका छन्।

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पौवाले नेपालगन्जमा मात्र १ अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको जानकारी दिए । अहिलेसम्म बिभिन्न बैंकहरुको ८५ करोड लगानी भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले लगानीकर्ताहरुले झण्डै ४० करोड लगानी गरेको बताए । त्यसैगरी होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ ।

नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेष्टर्न’को पहिलो चरणको काम सम्पन्न भएको उनले जानकारी दिए । उनका अनुसार नेपालगन्जमा मुख्य आवास भवन निर्माण भइरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । नेपालगन्जको होटलमा नेपाली हस्पिटालिटीभित्र अन्तरराष्ट्रिय सुबिधा रहने उनले बताए । 

होटल पौवा नेपालगन्जका प्रबन्धक गिरिराज पाण्डेले नेपालगञ्ज शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठूलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुने जानकारी दिए । नेपालगञ्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने उनले बताएका छन्।

स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ । 

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ । त्यसैगरी सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा संचालन भइसकेको छ । १ वर्षभित्र पाल्पाको झिँगामारामा पौवा बनवास रिसोर्ट संचालनमा आउने पौवा व्यवस्थापनले जनाएको छ ।

कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेको तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको छ । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गइरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिंगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ । 

अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष भण्डारीले बताए । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ,’ भण्डारीले भने ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech