नेपालगन्ज - उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यमान चुनौतीहरु पार गर्न वर्तमान सरकार निर्माण भएको बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले मंगलबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र दिगो विकासका लागि बलियो सरकारको आवश्यकता महसुस भएपछि कांग्रेस-एमालेको गठबन्धन सरकार निर्माण भएको बताए । सिंहले संघीयता अनुरुप हुने गरी संविधान संशोधनको गृहकार्य सुरु भएको उल्लेख गरे । जनताका आकांक्षा सम्बोधन गर्न सरकार पर्यत्नशील रहेको बताउँदै उनले विकास, सुशासन र स्थिरता सरकारको मुख्य लक्ष्य भएको बताए । उनले संयुक्त सरकारको मर्म अनुसार काम गर्नुपरेकाले केही कामहरु गर्न असजिलो भइरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह रठौर, केन्द्रीय सदस्य डिला संग्रौलाले पनि बोलेका थिए । त्यस अघि नेता कार्यकर्ताले पार्टी र सरकारका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सञ्जु कुमारी चौधरीले गरेकी थिइन् ।