पत्रकार सम्मेलन गरि नेपाली काँग्रेस बाँकेले पालिकाका प्रमुख-उपप्रमुखहरुसंग जवाफ माग्यो

शाख न्यूज    प्रकाशित: २०८१-११-१० गते   ८५९ पटक हेरिएको

नेपालगन्ज - नेपाली काँग्रेस बाँकेले काँग्रेसबाट निर्वाचित  पालिकाका प्रमुख-उपप्रमुखहरुलाई पार्टी कार्यालयमा बोलाएर पत्रकार सम्मेलन मार्फत निर्वाचित भएर आएपछि हालसम्म के के काम गरे ? त्यसको जवाफ मागेको छ । जनप्रतिनिधिहरुलाई जनताप्रति थप उत्तरदायी बन्न प्रेरित गर्नेछ र आफूले गरेका राम्रा अभ्यासहरु पत्रकारमार्फत उजागर गर्न मद्दत पुग्ने  पार्टी सभापति नारायण प्रसाद गौडेलले बताएका छन् ।

बाँकेका आठ वटै पालिका मध्ये जुन पालिकाले जनताको हितको पक्षमा काम गरि नागरिकको पहुँच पुग्ने गरी काम गरिरहेको छ, त्यो पालिकालाई पार्टीको आगामी तेस्रो जिल्ला सम्मेलनमा सम्मान सहित पुरस्कृत गर्ने समेत सभापति गौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसबाट जिल्लाका विभिन्न स्थानीय सरकारको नेतृत्व तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले हालसम्म गरेको काम र योजनाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनप्रतिनिधिहरुले घोषणापत्र अनुरुप काम गर्दै गएको समेत जिकिर गरे । 

सो पत्रकार सम्मेलनमा सात स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले आ–आफ्नो पालिकामा गरेका काम र योजनाको बारेमा जानकारी दिएका थिए । यसैगरी पालिकाभित्र गरिएका कामहरुमा भौतिक पूर्वाधार विकास, नीति तथा कानुन, सामाजिक विकास, सुशासन, आर्थिक विकाससंगै स्वास्थ्य, शिक्षा, कृषि, विपद्, जेष्ठ नागरिक, महिला तथा बालबालिका लगायतकोे क्षेत्रमा जनतामुखी काम गरिरहेको पनि जानकारी दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्थिति रहेको थियो । 

डुडुवा गाउपालिका अध्यक्ष चौधरीले डुडुवालाई नेपालमै सबैभन्दा धेरै दुुग्घ उत्पादन हुने गाउँपालिका बनाउने योजनाका साथ काम गरिरहेको बताए । उनले २०७६ साल साउन १ गतेदेखि कन्या शिक्षा मुद्दती योजना लागू गरिएको बताए । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिने गरिएको बताए । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चौधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको उनले बताए । 

त्यसक्रममा कोहलपुर नगरपालिका प्रमुख आचार्यले उनले कोहलपुर नगरलाई पर्यटनको हब बनाउन कोहलपुरको पिपरीमा जैबिक पार्क निर्माणका लागि १३ करोडको लागतमा गुरूयोजना तयार गरिएको बताए । आचार्यले कोहलपुरका प्रत्येक वडामा सडकको पहुँचका लागि ५ किलोमिटर पिच, २० किलोमिटर ग्राबेल सडक निर्माण गरिनुका साथै ७ किलोमिटर पक्की नाला, १५ किलोमिटर कच्ची नाला निर्माण गरिएको बताए ।

 बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले बैजनाथ गाउँपालिकाले नेपालको कुनै पनि पालिकामा नभएको कार्यक्रम किसानसंग पालिका अध्यक्ष कार्यक्रम संचालन गरी किसानहरूको समाजिक, आर्थिक र सांस्कृतिक बिकासको काम गर्दै आएको बताए ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिका आमनागरिकको बिकासका लागि पालिकाले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि पशुपालन, महिला र बालबालिका, सडक पूर्वाधार तथा बिजुली बत्तीलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech