नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनकाे दृष्टिकोणले अन्तर्राष्ट्रिय हब बनेकाे बताएका छन् ।
बर्दियाको जिल्लाको पवित्र तीर्थस्थल ठाकुरबाबा मन्दिरकाे आज अवलाेकन गर्दै आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणकाे क्षेत्रमा महत्त्वपूर्ण याेग्दान पुर्याएकाे तथा बाघ, हात्ती, गैंडा लगायतका दुर्लभ बन्यजन्तु अवलाेकनकाे अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताए । बर्दियालाई अझै विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने मुख्यमन्त्री आचार्यको भनाई छ ।
उनले भने-`लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिने गरी प्याकेज बनाउने गरी काम भइरहेको छ । पर्यटनकाे विकासले समग्र लुम्बिनीकाे विकासमा टेवा पुर्याउँछ ।´
मुख्यमन्त्री आचार्यले बर्दिया जिल्लाकाे समग्र विकासका लागि प्रदेश सरकारले याेजना तथा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।