प्रेम सिंह
बाँके – स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट बनेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ ।
आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनको सार्वजनिक प्रतिवेदनमा डुडुवा गाउँपालिकाले १०० पुर्णाङ्कमा ८५ प्रतिशत अंक ल्याई जिल्लाकै उत्कृष्ट भएको हो ।
गत आर्थिक वर्षमा डुडुवा गाउँपालिका ७७.२५ अंक ल्याएर पहिलो बन्न सफल भएको हो । पालिकाले संस्थागत सुधार , भौतिक पुर्वाधार, सामाजिक समाबेसिकरण र सहकार्य तथा समन्वयमा उत्कृष्ट अङ्क प्राप्त ।
स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए– लिजा) कार्यान्वयनमा रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि- २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्वमूल्याङ्कन गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका आधारमा संचालन गर्दै आइरहेको छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा सकारात्मक तथा नकारात्मक पक्षको पहिचान गर्न महत्त्वपूर्ण भुमिका रहेको हुन्छ ।
यस्तै कोहलपुर नगरपालिकाले ८१ प्रतिशत ,खजुरा गाउँपालिकाले ७७.५० प्रतिशत, जानकी गाउँपालिकाले ७६.५० प्रतिशत, बैजनाथ गाउँपालिकाले ७३.२५ प्रतिशत, राप्तिसोनारी गाउँपालिकाले ७०.५० प्रतिशत, नरैनापुर गाउँपालिकाले ६७.२५ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिका ६४.७५ प्रतिशत अंक ल्याएका छन् ।
कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि
स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानुन, कार्यविधि,निर्णय प्रक्रिया लगायतका कागजात प्रमाणका आधारमा १ सय वटा सुचकहरुलाई विश्लेषण गरि अंक निर्धारण गरिएको हुन्छ ।