नेपालगन्ज - नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तेजुलाल चौधरीले खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको बताए ।
बुधबार मन्त्री चौधरीले पत्रकार सम्मेलनदेखि पार्टी कार्यकर्तासंग भेटघाट तथा रंगशाला निरीक्षण समेत गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा आगामी मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापन सम्बन्धि आवश्यक जानकारी लिन सुर्खेतको बिरेन्द्रनगर गएको जानकारी दिएका थिए ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी लिएर फर्किएका चौधरीले प्रतियोगितामा ३६ खेलहरु खेलाइने भएपनि बढीमा २४ खेल मात्र सुर्खेतमा सम्भव देखिएकाले बाँकी खेल नेपालगन्ज र कोहलपुरमा खेलाउने विषयमा छलफल र अवलोकन गर्न नेपालगन्ज आएको मन्त्री चौधरीले सम्मेलनमा जानकारी दिएका छन् ।
पत्रकार सम्मेलन जिल्ला अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियोे । पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, उपसभापति गोपाल प्रसाद अधिकारी लगायतको उपस्थिति थियोे । सचिव सुधांशु कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।
मन्त्री चौधरीले बाँकेको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन, कार्यकर्ता भेटघाट र नेपालगन्ज रंगशालाको समेत अवलोकन गरेका छन् ।