नेपालगन्ज । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल छैठों वर्षमा प्रवेश गरेको छ । योग समिति नेपालले बिहीबार नेपालगन्जमा एक औपचारिक कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाएको छ ।
औपचारिक कार्यक्रमअघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्टले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राखेका थिए।
योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको सभाअध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बिष्ट, नेपालगन्ज–२ का वडा अध्यक्ष मनोज श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा समितिका सल्लाहकार नन्दलाल बैश्य लगायतको उपस्थिति रहेको थियो ।
स्वागत गीत तथा नृत्यबाट शुरु भएको कार्यक्रममा विभिन्न बिद्यामा उत्कृष्ट कार्य गरेका सदस्य, सुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको समितिकी उपाध्यक्ष लोकमाया सुवेदीले बताइन् । योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्न प्रेरित गर्न सफल बनेको छ ।