बाँके १८ भदौ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बाँकेबाट बिहिबार नेपालगन्जका विभिन्न औषधि, सर्जिकल एवं मासु पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीको मुल्यसुची आम उपभोक्ताले सजिलै देख्न सक्ने गरि टाँस्न लगाइएको थियोे । बिहीबार गरिएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले उत्पादन र आपुर्ति सहज भएको हुनाले उपभोक्ताहरुलाई तोकिएको मुल्य अनुरुप खरिद गर्न आग्रह गर्नु भएको छ । त्यसैगरि मूल्यमा समेत एकरुपता कायम गरिएको हुँदा उपभोक्ताहरुको हितलाइ मध्यनजर गरि न्युनतम मूल्यमा बिक्री गर्न व्यवसायीहरुलाई प्रमुख पौड्यालले निर्देशन दिनुभयो ।
व्यवसायीहरुले पनि सोही अनुरुप मुल्य समायोजन गरि मुल्य सुची समेत टाँस गर्नुका साथै तोकिएको भन्दा बढी मूल्य नलिने प्रतिबद्धता समेत जनाएका छन् । सोही कार्यालयका सूचना अधिकारी समेत रहनु भएका नायब सुब्बा देवीलाल चौलागाईं , जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका हिक्मत थापा, उपभोक्ता संरक्षण मन्चका प्रभात सिंह ठकुरी, नेपालगन्ज उद्योग वाणिज्य संघका भिम बहादुर रानाभाट लगायतको सहभागीता रहेको थियो ।