कोहलपुर नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड २०८० को उपाधि

शाख न्यूज    प्रकाशित: २०८०-११-१ गते   १०० पटक हेरिएको

बाँके - जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिल्ड कोहलपुर नगरपालिकाले प्राप्त गरेको छ । १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि पनि कोहलपुर नगरपालिकाले जीतेसँगै शिल्ड पनि प्रदान गरिएको कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले बताए ।

कोहलपुर नगरपालिकाले यसअघि लगातार दुई वर्षदेखि उपाधि जित्दै आएको थियो । कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जित्न सफल भएको हो । उसुमा कोहलपुर बाहेक कुनैप नि पालिकाले सहभागिता जनाएका थिएनन् ।

शिल्डमाथि कब्जा जमाएपछि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले खेलाडीहरुलाई बधाई दिएका छन् । उनले यो जीत सम्पूर्ण कोहलपुर नगरबासीको भएको भन्दै खेलकुद क्षेत्रमा स्थानीय सरकारको लगानीको औचित्य पुष्टि भएको बताएका छन् । उनले आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि थप योजना र नीति बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने गरी पालिका लागिपरेको समेत प्रष्ट्याए । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिएर काम गरिरहेको बताइन् ।

रनिङ शिल्डमा राप्तीसोनारी दोस्रो र नेपालगञ्ज तेस्रो भएका छन् । राप्तीसोनारी गाउँपालिकाले १३ गोल्ड, १७ सिल्भर र २० ब्राउन्ज मेडल प्राप्त गर्न सफल भयो । नेपालगञ्ज उपमहानगरपालिकाले ७ गोल्ड, ६ सिल्भर र ६ ब्राउन्ज मेडल जित्न सफल भएको हो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech