बाँके २८ माघ - नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताएका छन् ।
बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाउने योजनाका साथै लागत सोचेभन्दा धेरै भएकाले बजेटको व्यवस्थापन गरिरहेका छौँ नगर प्रमुख बिष्टले जानकारी दिएका छन् ।
बागेश्वरी मन्दिरको छाना पुनःनिर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरेअनुरुप पर्यटन डिभिजन कार्यालयमार्फत रु ४० लाख आएको उनले जानकारी दिए । “प्रदेश सरकारबाट आएको रु ४० लाखबाट काम सुरु भएको भएको छ, बाँकी पैसा हामी गुठी संस्थानसँग साझेदार गर्छौँ”, नगरप्रमुख विष्टले भने- “ताम्रपत्रले छाना छाउँदा लागत धेरै हुने भएकाले आन्तरिक स्रोत एवं सहयोग सङ्कलन गरेर निर्माणकार्य पूरा गरिने छ ।”
करिब रु ७५ लाख लागतमा उक्त काम सुरु गरिएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवंं मन्दिर सौन्र्दयकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिएका छन् । स्थानीय साधनस्रोतको प्रयोग गरी मन्दिरको जीर्ण अवस्थामा रहेको छतको टायल निकाल्न सुरु गरिएको छ उनले भने ।
नेपालगञ्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तथा महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गरेका छन् । बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासका साथ दैनिक भक्तजन पूजाआजका लागि मन्दिर पुग्ने गरेका छन् । प्रमुख शक्तिपीठको रूपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको अझ बढी भीडभाड हुने गरेको मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीको भनाइ छ ।
उनका अनुसार यहाँ सतिदेवीको जिब्रो पतन भएकाले साक्षात् देवीको बास रहेको छ । जनश्रुतिअनुसार मन्दिरमा सतिदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।