सिकलसेल रोग पहिचान गर्न राप्तीसोनारी र कोहलपुरबीच सहकार्य

शाख न्यूज    प्रकाशित: २०८०-९-१२ गते   २५५ पटक हेरिएको

बाँके १२ पुस - सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान गर्न बाँकेमा कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले अन्तरपालिकास्तरीय सहकार्य गर्ने भएका छन् । कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचानमा अन्तरपालिकास्तरीय समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । सिकलसेल एनिमिया र बिटा थालेसिमिया थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । 

बिहीबार दुवै पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखहरुबीच कोहलपुरमा भएको समन्वयात्मक बैठकमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका हुन् ।

राप्तीसोनारी गाउँपालिकाले रक्त नमुना संकलन प्रत्येक साताको आइतवार, सोमवार र मंगलवार ३ दिन गर्नेछ । गाउँपालिकाले रक्त नमुना संकलन भने चार महिनामात्रै गर्नुपर्नेछ । पुस, माघ, फागुन र चैत महिनासम्म संकलित रक्त नमुना कोहलपुर नगरपालिकाले जाँचपछि रिर्पोट राप्तीसोनारीलाई दिनु पर्ने सहमति भएको छ । रक्त नमुना संकलनका लागि शिविर संचालन तथा व्यवस्थापन र सिकलसेल ल्यावमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको पारिश्रमिक भने स्वास्थ्य कार्यालय बाँकेले उपलब्ध गराउने स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले बताएका छन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले थारु समुदायलाई प्रभावित पारिरहेको सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोग कोहलपुर नगरपालिकाको मात्रै नभएर बाँकेकै समस्या भएकाले पालिकास्तरसँगको समन्वयमा यसको नियन्त्रण जरुरी रहेको बताए । 

यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोगको पहिचानका लागि पालिकाले स्क्रिनिङ शिविरलाई प्रभावकारी बनाउने योजनामा पालिका रहेको जिकिर गरेका छन् । उनले यही पुस १६ गतेदेखि वडा नं. १ र २ का लक्षित समूदायका सबै नागरिकको सिकलसेल तथा थालेसिमिया परीक्षण गरिने जानकारी दिएका छन् । 

कोहलपुर नगरपालिकामा हालसम्म करिव १३ हजार सिकलसेल एनिमियाको रक्त नमुना परीक्षण भएको छ । त्यसमा सय जना भन्दा बढी सिकलसेल तथा थालेसिमियाका बिरामी भेटिएका छन् । यस्तै राप्तीसोनारीमा ३ हजार ३ सय ५० नमुना जाँच भएकोमा ५६ जना सिकलसेलका रोगी र एकजनामा थालेसिमिया देखिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख आचार्य, उपप्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिलसेल ठकुरी, सिकलसेल ल्याव प्रमुख शिव गौतम, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेल, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, स्वास्थ्य शाखा प्रमुख केसी, स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठसम्मेलित समन्वयात्मक बैठकमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech