एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता : मन्त्री लिम्बु

शाख न्यूज    प्रकाशित: २०८०-८-२३ गते   ८८ पटक हेरिएको

नेपालगन्ज २३ मंसिर - युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले देशमा विद्यमान खेलकुद संरचनाको अवस्था, पूर्वाधार निर्माणको आवश्यकता, खेल जगतको समग्र अवस्था बुझ्न आफू अहिले जिल्ला भ्रमणमा हिंडिरहेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले जनताको मन जित्ने गरी काम गरिरहेको बताए । आफू मन्त्री बन्नु अघि बजेट बनिसकेका कारण आफ्नो सोच अनुसार काम हुन नसकेको भन्दै उनले जनअपेक्षा अनुरुप काम गर्न सक्दो प्रयास भने गरिरहेको बताए ।

नेपाली कांग्रेसलाई गुटका नाममा कमजोर बनाउन नहुने भन्दै मन्त्री लिम्बुले एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता रहेको बताए । उनले कांग्रेस सरकारमा सहभागी भएकाले जनउत्तरदायी बनेर मन जित्नुपर्ने आवश्यकता औंल्याए । नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले जिल्लामा युवा, खेल र खेलाडीको विकासका लागि मन्त्री लिम्बुसमक्ष पार्टीका तर्फबाट ध्यानाकर्षण गराएका थिए । सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा नेता कार्यकर्ताले मन्त्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए । मन्त्रीसंग नेता कार्यकर्ताहरुले खुला छलफल गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech