भोलि विश्व एड्स दिवस, नेपालगन्जमा सचेतना र्याली निकालिँदै

बाँकेमा घट्दै एचआइभी संक्रमण दर, ५५६ जना एआरटी उपचारमा

शाख न्यूज    प्रकाशित: २०८०-८-१४ गते   २६७ पटक हेरिएको

नेपालगन्ज - बाँकेमा थप १०९ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा एचआइभी परीक्षण गर्दा १०९ जना पोजिटिभ भेटिएका हुन् । त्यस अघिको वर्षमा ११ हजार ७४५ को परीक्षण गर्दा १५७ संक्रमित फेला परेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहका अनुसार बाँकेमा अहिले ५५६ जना एचआइभी संक्रमितले एआरटी सेवा लिइरहेका छन् । ५५६ मध्ये ४१० जना बाँके जिल्लाकै हुन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज नेपालगन्जमा आयोजना गरिएको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको हो ।

भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा नि:शुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट हालसम्म १७२ जनाको मृत्यु भएको तथ्यांक छ । भेरी अस्पताल नेपालगन्जका एचआइभी फोकल पर्सन डा. संकेत रिसालले भेरी अस्पतालमा २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र नि:शुल्क औषधि वितरण गरिरहेको बताए । उनले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिए ।  'गुम्सिएर नबसौं, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधि सेवन गरे रोग नियन्त्रण हुन्छ, उपचार सम्भव छ,' डा. रिसालले भने ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स संक्रमण दर घट्दो क्रममा रहेको बताइन् । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र काउन्सिलिङलाई व्यापक बनाइएको जानकारी दिए । चन्दले नेपालगन्ज उपमहानगरपालिकाले एचआइभी संक्रमितलाई प्रोत्साहन भत्ता समेत दिँदै आएको बताए । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा एचआइभी संक्रमणदरमा उल्लेख्य सुधार भएको बताए ।

'समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं' भन्ने नाराका साथ डिसेम्बर १ तारिख अर्थात भोलि ३६औं विश्व एड्स दिवस मनाइँदैछ । नेपालगन्जमा पनि भोलि सचेतनामूलक र्याली निकालिँदैछ । भेरी अस्पतालबाट विहान साढे ७ बजे निस्कने र्याली बसपार्क पुगेर समापन हुने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विनोद विकले बताए । नेपालमा ३० हजार एचआइभी संक्रमित छन् । वयश्क जनसंख्याको ०.१२ प्रतिशतमा एचआइभी संक्रमण दर छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech