नेपालगञ्ज - नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालयका एक जना कर्मचारी पक्राउ परेका छन् ।सोमबार बिहान नेपालगञ्ज विमानस्थलबाट पौने ९ बजेको श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका तुलसीपुर आन्तरिक राजश्ज कार्यालयका अधिकृत खगेन्द्र सापकोटालाई विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रविन्द्र बमको टोलीले श्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकृत सापकोटासँगै काठमाडौं यात्रा गरिरहेका अर्का दीपक पौडेल बोर्डिङ पास नलिएका कारण विमानस्थलबाट फरार भएका छन् । पौडेल पनि कर अधिकृत नै रहेको बताइएको छ । पक्राउ परेका सापकोटालाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लगिएको बाँके प्रहरी स्रोतले जनाएको छ । फरार पौडेलको खोजी कार्य तीब्र पारिएको छ ।
पक्राउ परेका अधिकृत सापकोटासँग थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।