गुल्मी - गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा फेला परेका छन्। वडाध्यक्षले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका हुन् । शुक्रबार घरबाट निस्किएर रातभर घर नफर्किएका घिमिरे शनिबार रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले आत्महत्या गरेको प्रहरीको आशंका छ। उनले आत्महत्या गर्नु अघि फेसबुकमा स्टाटस पनि लेखेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको बताएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्।
बिहान करिब ५ बजेको समयमा फेसबुक स्टाटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे बिहान साढे ७ बजे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा मृत फेला परेका हुन् ।
वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिताः साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।’
उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मुसिकोट वडा नं १ को वडाअध्यक्ष निर्वाचित भएका थिए।