बाँके १४ असार - बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा बाँकेका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपपछि प्रदेशले बिहीबार १२ वटै जिल्लामध्ये बाँकेलाई प्रदेशको पहिलो पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हाे ।
जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बाँकेलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा सभालाई बिहीबार नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको बताएका छन् । मन्त्री खनालले खोपको सुरुवातसंगै महामारी रोगहरु नियन्त्रणमा हुनुका साथै खोपले बिभिन्न रोगबाट बालबालिकालाई बचाउने तथा हरेक व्यक्तीका लागि रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले खोप बालबालिकाका लागि मात्र नभई हरेक नागरिकका लागि आवश्यक रहेको बताएका छन ।अहिले नसर्ने रोगको महामारी देखिएको हुँदा यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको छ उनले भने । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरि निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी लागिपरेको जानकारी दिएका छन ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले कुनै पनि बालबालिका खोपबाट वंचित नहोस् भन्ने सवालमा सबै गम्भीर हुनुपर्ने बताउँदै नेपाल सरकारले तोकेका खोपहरु सबैले पाउनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिब डा. जनार्दन पन्थी, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी, लुम्बिनी प्रदेशसभाका सदस्य बादशाह कुर्मी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाको तर्फबाट खजुरा गाउँपालिका २ का वडा अध्यक्ष धनराम वली, बर्दिया स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरी, स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै स्वास्थ्य कार्यालय बाँकेको अग्रसरतामा जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधारका साथै स्वास्थ्य संगै सामाजिक कार्यमा सबै राजनितिक दल, समाजसेवी, जनप्रतिनिधी एक भएर अघि बढ्नुपर्नेमा उनिहरुको जोड थियो ।
पालिकाका जनप्रतिनिधी, राजनितिक दलका प्रमुख प्रतिनिधी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, स्वास्थ्य शाखा संयोजक लगायत सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रम स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा पालिकाहरुलाई र स्वास्थ्यकर्मीहरु समेत सम्मान गरिएको थियो ।
जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । खोपै नलगाएका १ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । डुडुवा बैशाख ८, जानकी जेठ २१, खजुरा २५, कोहलपुर २६, बैजनाथ २९, नरैनापुर ३१, नेपालगन्ज ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो ।







