खजुरा गाउँपालिकाकाे १३औं अधिवेशनबाट नीति तथा कार्यक्रम पास

शाख न्यूज    प्रकाशित: २०८०-३-८ गते   २६५ पटक हेरिएको

बाँके ०८ असार - बाँकेको खजुरा गाउँपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँ सभाको १३औं अधिवेशनबाट पास गरेको छ ।

पालिकाका अध्यक्ष डम्बरबहादुर विकले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खजुराले दिगो विकासका अवधारणालाई निरन्तरता दिन पालिकालाई सुशासन र पारदर्शीमैत्री बनाउने योजना लिएको बताए ।

खजुरा गाउँपालिकालाई खजुरा नगरपालिका निर्माण गर्न आवश्यक आधार तयार गर्ने, जनतासँग अध्यक्ष कार्यक्रमबाट टोल, बस्तीका गुनासा समस्या पहिचान गरी तत्काल सहजीरकण गरी समाधान गर्ने र विपतमा परेका व्यक्तिलाई तत्काल राहत र आय आर्जनमा सहयोग गर्ने गतिविधि संचालन गर्ने, आन्तरिक आय वृद्धिका लागि राजश्व र करको दायरा बढाउने र सबै पेशा व्यवशायलाई पालिकामा दर्ता गर्न लगाउने जस्ता नीति खजुराले लिएको अध्यक्ष विकले बताए ।

यसैगरी खजुराले निर्माणाधीन गौरवका योजनाहरुमा बहुउद्देश्य सभाहल, शित भण्डार, औद्योगिक ग्राम, खेलकुद ग्राम, पालिकाको प्रशासनिक भवन निर्माण, ग्रीन सिटि निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना र १५ शै्याको अस्पताल निर्माणलाई निरन्तरता दिइने योजना रहेको अध्यक्ष विकले बताए । साथै वडा नम्बर २ मा शहिद स्मृति पार्क, वडा नम्बर ३ मा बसपार्क, वडा नम्बर ३ मा कान्ती ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने र पालिकास्तरीय ल्याण्डफिल साइटको निर्माण गरी फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गरिने आगमी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै खजुराले क्षेत्रगत नीति तथा कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पशु, संस्कृति तथा पर्यटन, राजश्व तथा नीति व्यवस्थापन, खानेपानी तथा सरसफाइ, वन, वातावरण तथा विपद् व्यवस्थापन, उद्योग ब्यापार, घरेलु तथा साना उद्योग, सहकारी, न्यायिक समिति, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक सुरक्षा, गरिवी निवारण तथा रोजगार, भूमि तथा भूमिहीनको व्यवस्थापन, गैर सरकारी संस्था, समन्वय तथा सहकार्यका क्षेत्रमा पनि पालिकाले विशेष नीति बनाएको अध्यक्ष विकले बताए ।

बजेटमाथि छलफल गर्न आगामी १० गते गाउँसभा बस्ने गरी आजको सभा  सकिएको हाे ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech