नेपालगन्ज - भारतको मुम्बईबाट उपचार गराएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन् ।
सांसद भण्डारी आज साँझ मुम्बईबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । सांसद भण्डारी गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ग्यास पड्किएर आगालागी हुँदा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएर कीर्तिपुर बर्न हस्पिटलमा उपचार सम्भव नहुदा भण्डारीलाई थप उपचारको लागि गत फागुन ४ गते भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।
साढे दुई महिनाको उपचारपछि भण्डारीको स्वास्थ्यमा सुधार आउँदा उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।
सांसद भण्डारी काठमाडौं फर्केसँगै उनले घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।
उक्त आगलागीमा परी भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।