इन्स्पेक्टर नवीन चापागाईंले गुन्डागर्दी सैलीमा कुटे हवल्दारलाई गम्भीर चोट उपचारको लागि नेपालगन्ज

शाख न्यूज    प्रकाशित: २०८०-१-१७ गते   ३१४ पटक हेरिएको

बाँके । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्।

कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।

हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार बिहान करिब ११ बजेको हो।

‘मलाई जिल्ला प्रहरी कार्यालय भित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गर्नु भयो,’ उनले भने, ‘मलाई बायाँ आँखा हेर्न गाह्रो भइरहेको छ, नाक पनि दुखिरहेको छ।’

हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन्। ‘आँखाको उपचारका लागि म नेपालगञ्ज जानुपर्ने भयो,’ उनले भने।

प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगञ्ज जान आग्रह गरेको उनले बताए।

शनिबार हवल्दार आरसी बिदामा थिए। उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको पनि बताए।

‘म साथीहरूसँग बसिरहेका बेला इन्स्पेक्टरसाबले बोलाउनुभएको छ भने असईले भन्नुभयो। म प्रहरी कार्यालय गएँ। एकाएक इन्स्पेक्टरसाबले कुट्नुभयो। मैले माफी मागे पनि उहाँले कुट्नुभयो,’ उनले भने।

बिदाको दिनमा मापसे गरेको र हो-हल्लासमेत नगरेको उनको भनाइ छ। ‘यदि मैले गल्ती नै गरेको थिएँ भने पनि मलाई सांगठानिक कारबाही गरिनुपर्थ्यो,’ उनले भने।

यो घटनाबारे बुझ्न खोज्दा प्रहरी निरीक्षक चापागाईंको मोबाइल स्वीच अफ छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालय भन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।

‘कुटपिट र हातपात गर्न पाइँदैन। हामी घटनाबारे विस्तृतमा अनुसन्धान गरिरहेका छौं। दोषीलाई विभागीय कारबाही हुन्छ,’ उनले भने, ‘कानून हातमा लिने जो-कोहीलाई पनि कारबाही हुन्छ।’  ( साभार एबिसी संचारबाट) 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech