नेपालगन्ज ९ वैशाख - शनिबार चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा चलचित्र ‘ज्याकी - आईएम ट्वान्टी वान’को टिमले नेपालगन्जका पत्रकार संग साक्षात्कार गरेको हो ।
रिनाशा राई राणाको निर्देशनमा बनेको यस चलचित्रमा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार र सुशान्त गौतमको पनि अभिनय रहेको छ । यहि वैशाख २१ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रको प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेका छन् । चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बास्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी–आई एम ट्वान्टिवान’ फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । ‘ज्याकी–आई एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा नेपालगन्ज आइपुगेको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।
मोफसलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै ‘ज्याकी आई एम ट्वान्टिवान’मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने सघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए । उनले ‘ज्याकी–आई एम ट्वान्टिवान’को माध्यमबाट नेपालमा पहिलोपटक ‘हिपप डान्स’को कथालाई समेटिएको बताए ।
त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले समेटेको बताइन् । नेपाली दर्शकको फरक कथाप्रतिको चाहलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले पूरा गर्ने विश्वास आफूले लिएको उनले बताइन् । उक्त साक्षात्कार कार्यक्रमको समन्वय तथा व्यवस्थापन चलचित्र पत्रकार संघ नेपाल बाँके शाखले गरेको थियो ।
अब ‘ज्याकी आई एम ट्वान्टिवान’को टोली प्रचारप्रसारका लागि पूर्वका सहरहरुमा जाने चलचित्र टिमले जनाएको छ । कोरोनापछि मोफसलमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्दै आएकोे हुँनाले चलचित्र निर्माताहरुको आकर्षण मोफसलमा बढ्दै गएको साक्षात्कारमा जनाइएको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष राम चन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव विक्रम बुढाक्षेत्रीले सञ्चालन गरेका थिए ।