कोहलपुर नगरपालिकाद्धारा हिंसा पीडित राहात कोषबाट गंगालाई आर्थिक सहायता

शाख न्यूज    प्रकाशित: २०८०-१-३ गते   २९८ पटक हेरिएको

कोहलपुर ०३ बैशाख - कोहलपुर नगपालिका–२ शक्तिनगरकी घरेलुहिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो । कोहलपुर नगरपालिकाले हिंसा पीडित राहात कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो ।

आईतबार एक कार्यक्रमकाबीच नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगिता सुवेदी, वडा नं. २ का वडा अध्यक्ष हरि सिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहात कोषबाट आर्थिक सहायता गरिएको बताईन । गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आव्हान समेत कार्यवहाक नगर प्रमुख सुवेदीले गरेकि हुन । उनले घरेलु हिंसा विरुद्ध नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाउने जानकारी दिएकी हुन । कुनै पनि महिला हिंसाको सिकार हुन नपरोस् भन्ने सवालमा नगरपालिका गम्भीर रहेकाले यसबारेमा चेतना फैलाउन जरुरी रहेको समेत उल्लेख गरिन। घरेलु हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक आयआर्जनसँग जोड्ने गरी सीपमूलक तालिम प्रदान गरेर उनिहरुलाई आयआर्जनमा केन्द्रीत गराउने गरी आफुहरुले योजना बनाइरहेको पनि उनले बताईन । 

गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको भन्दै घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गर्दै हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको वडा अध्यक्ष हरिसिंह कठायतले बताएका छन । यस्तै कार्यपालिका सदस्य वि.क. ले घरेलु हिंसा जस्ता जघन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताए । घटना हुनै नदिने गरी समाजमा अग्रीम बहस चलाउन आवश्यकता रहेको कार्यपालिका सदस्य वि.क. ले बताएका थिए । 

आफ्नो उपचारमा आर्थिक सहयोग गरेका   छिमेकी तथा वडाका जनप्रतिनिधि र पालिकाप्रति गंगाले खुसी व्यक्त गर्नका साथै धन्यवाद समेत दिएकी थिईन । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका थिए । भानुभक्त वि.क. पूर्पक्षका लागि कारागारमा छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech