नरैनापुर- ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल ‘बिओपी’ भवनको उद्घाटन

शाख न्यूज    प्रकाशित: २०७९-१२-२२ गते   ४३० पटक हेरिएको

बाँके २२ चैत - बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट  ‘बिओपी’ भवनको उद्घाटन गरिएको छ । बुधबार  एक समारोहका बीच नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खड्का र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्तरूपमा नवनिर्मित भवनको उद्घाटन गरेका छन्  ।

कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले मुलुकको भूमि एक इञ्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरीले संवेदनशील भई काम गर्ने बताए । 

कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले सशस्त्र द्वन्दको विषम परिस्थितिमा स्थापना भई शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले विपद्का वेला उद्धार, संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक मोहन कुँवर, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, सशस्त्रका डिएसपी दिपक चन्द, वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का अध्यक्ष प्रेमचन्द्र मौर्य, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech