नेपालगन्ज १३ चैत - बाँकेको जानकी गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धि सोमबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेश नेपालगन्ज बाँकेको आयोजना तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहजीकरणमा भएको हो ।
गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गाउँपालिकाले गर्नुपर्नेमा प्रदेशले गरिरहेको बताइन् । उनले पालिकालाई कसरी अगाडि बढाउने, वजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सहयोग गरिरहेको बताइन् । पालिकाका जनप्रतिनिघि, कर्मचारी लगायत सहजीकरण गर्ने संघसंस्थाहरु सबैको सक्रिय भूमिका रहेमा मात्र पालिकामा राम्रो नतिजा निकाल्न सकिने गाहाले बताइन् ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम व्यवस्थापक रविन्द्रकुमार ज्ञवालीले लुम्विनी प्रदेशका १०९ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम लगायत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्थासंगै पालिकाहरुले आत्मसाथ गरेका वा पालिकाबाट समग्ररुपमा भइरहेका कामहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गरिने बताए ।
कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, जनप्रतिनिघि, कर्मचारी , सामाजिक विकास समितिका संयोजक रामआँचल धोवी , विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिँह , पालिकका शिक्षा शाखाकी प्रमुख , योजना शाखाकी प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी लगायतको उपस्थिति रहेको थियो ।