बाँके, १० चैत - नेपालगन्ज नाकामा सात जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्जको जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा शंकास्पदहरुलाई कोभिड - १९ जाँच गर्दा केही दिनदेखि संक्रमण देखिन थालेको छ । भारतको दिल्लीबाट फर्किदै गरेका चार पुरुष र तीन महिला गरि शुक्रवार सात जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
एन्टिजेन विधिमार्फत एक सय ६१ जनाको कोरोना जाँच गर्दा दैलेख आठविसकोट गाउँपालिका १ का सात जनामा पुष्टि भएको उनले बताए । पुष्टि भएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने गरि सम्बन्धित गाउँपालिकामा पठाइएको उनले बताए । ‘सम्बन्धित गाउँपालिकासँग समन्वय गरि संक्रमितलाई घर पठाइएको छ,’ उनले भने ।
इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन परीक्षण गरेको कागजात हेरेरमात्र प्रवेश गर्न दिएको बताए । उनले भारतमा कोरोना संक्रमण देखिएपछि नाकामा कडाई गरिएको बताए ।