देशकै उत्कृष्ट गाउँपालिका नरैनापुरले पायो ६६ लाख पुरस्कार

शाख न्यूज    प्रकाशित: २०७९-१२-९ गते   ५०५ पटक हेरिएको

नेपालगन्ज ९ चैत - स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिकालाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षको लागि लाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै पालिका मध्ये सबैभन्दा बढी बजेट पाएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परिश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गर्न सफल भएको बताए । ‘यो पुरस्कार पाउनुमा नरैनापुरबासीको समेत हात छ,’ उनले भने ।

कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले बताए । उनले कार्यसम्पादनमा पाएको सफलतालाई तल झर्न नदिने प्रतिवद्धता समेत जनाए । ‘यो सफलतालाई कायमै राखेर अझ प्रभावकारी बनाउन हामी प्रतिवद्ध छौँ,’ उनले भने ।

अन्य आधारमा सबभन्दा बढी अनुदान पाएको काठमाण्डौं महानगरपालिका कार्यसम्पादनको आधारमा भने ३०७ औं स्थानमा परेर ४८ लाख रूपैयाँ अनुदान पाएको छ । कार्यसम्पादनको आधारमा मंगला गाउँपालिका म्याग्दीले ६५ लाख, सिस्ने गाउँपालिका रुकुमले ६५ लाख ७७ हजार, प्युठान नगरपालिका, प्युठानले ६५ लाख र ७७.२६ सरूमारानी गाउँपालिका प्युठानले ६५ लाख रुपैँया पाएको छ । यो चालु वर्षमा दिइने रकम उल्लेख गरेभन्दा करिब १३ अर्ब रूपैयाँ घटाएर सिफारिस गरिएको हो ।

आयोगले गरेको सिफारिसको आधारमा सबैभन्दा बढी काठमाडौं महानगरपालिकाले ७० करोड ५५ लाख रूपैँया वित्तीय समानीकरण अनुदान पाएको छ । सबभन्दा कम पाउनेमा रोल्पाको थवाङ गाउँपालिकाको जम्मा ६ करोड ८६ लाख रूपैयाँ छ । राम्रो कार्यसम्पादनको आधारमा दिइने अनुदानको हिस्सा भने जम्मा ३.९ प्रतिशत छ । यो रकम अघिल्लो आर्थिक वर्षमा गरिएको कामलाई ११ सूचकमा मूल्यांकन गरी त्यही आधारमा दिइने गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech