दुर्घटना न्यूनीकरणका साथै ट्राफिक ब्यवस्थापनका लागि सबैको साथ र सहयोग आवश्यक - प्रहरि निरीक्षक सुनार

शाख न्यूज    प्रकाशित: २०७९-१२-६ गते   ३८१ पटक हेरिएको

नेपालगन्ज ०६ चैत -  ट्राफिक प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव डेढ सातापछि  संचारकर्मीहरु सँग सोमबार परिचयात्मक तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियोे । आयोजित कार्यक्रममा मापसेका कारण सडक दुर्घटनाका घटनाहरु धेरै भएकाले त्यसको नियन्त्रणका लागि आफू निरन्तर रुपमा अगाडि बढ्ने   प्रहरी निरीक्षक तिलक बहादुर  सुनारले जानकारी दिएका छन ।

बाँकेको सबैभन्दा ठूला सहर नेपालगन्ज र कोहलपुर हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको समेत प्रहरी निरीक्षक सुनारले बताएका छन ।

नेपालगन्जका केही स्थानहरुमा  ट्राफिक प्रहरीको उपस्थिति भएपनि मुख्य बजार क्षेत्रका केही स्थानमा भने  ट्राफिक प्रहरीको उपस्थिति भएको छैन । जसका कारण त्यस क्षेत्रमा ट्राफिक जाम हुनुका साथै पैदल यात्रुहरु समेत  दुर्घटनाको उच्च जोखिम रहेका हुन्छन ।

ट्राफिक प्रहरी प्रमुख सुनारले चुनौतिकाबीच पनि ट्राफिक व्यवस्थापनमा विभिन्न कामहरु भइरहेको बताए । स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्ने जनाएका छन । कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उनले पैदलयात्रु, विद्यार्थी र मजदुरहरुलाई ट्राफिक नियमबारे जनचेतना फैलाउनुका साथै  ट्राफिक ब्यवस्थापनका लागि सबैको सहयोग र साथ प्राप्त भएमा दुर्घटना न्यूनीकरण हुने उनले बताए ।

जिल्लामा भएका दुर्घटनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी टिप्पर, म्याजिक, स्कुटर र मोटरसाइकल छन् । तीब्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारी सचालउने गरेका कारण दुर्घटना भएका छन् । जसले गर्दा आफ्नो ज्यानमात्र गुमाएका छैनन् । उनीहरुका कारण निर्दोष पनि दुर्घटनाको शिकार बनेका छन् । ट्राफिक प्रहरी प्रमुख सुनारले संगठनभित्र आर्थिक अनुशासनलाई मजवुत पार्ने आश्वासन समेत दिएका छना । उनले ट्राफिक प्रहरीहरु आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिधै आफूलाई जानकारी गराउन आग्रह समेत गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech