नेपालगन्ज - बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्तणका लागि विभिन्न ठाउँमा वन डढेलो 'दस्ता' निर्माण गरिने भएको छ । कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्तण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्नुका साथै उनीहरुलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेशबहादुर खड्काले जानकारी दिएका छन ।
वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकताका साथ सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायको सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन हुने सुचना अधिकारी खड्काले बताएका छन । डढेलोका कारण वन्यजन्तुको बासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ त्यसैले डढेलो नियन्त्रण सञ्जालसमेत गठन गरि विभिन्न सामुदायिक वनमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम हुने बताएका छन ।
सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मी लगायतका सरोकार भएका निकायहरु रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्तणमा ल्याउने प्रयास गर्नेछ । बाँकेमा गठन भएका प्रत्येक सञ्जालले ८ देखि १० सेटसम्म 'फायर फाइटिङ”' उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ । डढेलो लागेपछि फिल्डमा खट्नेका लागि विभिन्न पौशाककोसमेत प्रबन्ध गरिएको छ । हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउँदै आएको आएको छ ।
जिल्लाको राप्तीसोनारीको पूर्वी क्षेत्र विनौना, फत्तेपुर, चुरे क्षेत्र, नरैनापुर, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्नै गरेको डिभिजन वन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको वन डढेलो नियन्यत्रण कार्यक्रम बाँकेबाट शुरु गरिएको छ ।