नेपालगन्ज - नेपालगन्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको हो । वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको चन्दले बताए । पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।

यसैक्रममा आज नेपालगञ्जको वडा नम्बर १७ स्थित परस्पुर स्वास्थ्य चौकीमा कार्याशाला गोष्ठी गरिएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए । वडा नम्बर १७ का वडा अध्यक्ष एवम् खोप समन्वय समिति संयोजक लक्ष्मणप्रसाद बर्माको अध्यक्षतामा कार्यशाला गरिएको सिनियर अहेब विनोद विकले जानकारी दिए । कार्यशालामा वडा अध्यक्ष, वडा सदस्यहरु, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठ, युनिसेफका प्रतिनिधि कृष्ण खुलाल, स्वास्थ्य चौकी प्रमुख दिपाकुमारी थापा साउद, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायत उपस्थित थिए । यसअघि वडा नम्बर ५, ६, ८, १३, १४, १९, २१ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ ।