डुडुवामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य

४१ हजार जनसंख्यालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने

शाख न्यूज    प्रकाशित: २०७९-११-१ गते   २८१ पटक हेरिएको

नेपालगन्ज - राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३ औं आम औषधी सेवन अभियान यस वर्ष शुरु भएको छ । अभियान सफल बनाउनका लागि बाँके डुडुवा गाउँपालिकाले सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ । यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निधारर्ण, अनुगमनको कार्यलाई प्रभावकारी बनाउने विशेष रणनिति निमार्ण गरिएको छ ।

औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निमार्ण गरिएको रणनिति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताएका छन । उनका अनुसार डुडुवामा यही फागुन ११ गते देखि अभियान संचालन गर्न लागिएको हो । करिब एक हप्तासम्म संचालन गरिने उक्त अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जनामहिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । उचाईका आधारमा आइभर मेट्रिन, डिसी र अल्वेन्डाजोल नामक औषधी खुवाउने शाखा प्रमुख बुढाले बताए । ग्रामिण क्षेत्रमा अशिक्षाका कारण अधिकांस नागरिकले औषधी सेवन नगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको हो । गतवर्ष डुडुवामा ७८ प्रतिशत नागरिकले मात्र औषधी सेवन गरेका थिए ।

यस वर्ष औषधी सेवनका लागि जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतले विशेष भुमिका खेल्ने जोड दिइएको छ । डुडुवामा गर्भवती र सुत्करीबाहेक ४१ हजार जनसंख्यालाई औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य शाखा सहसंयोजक बीरेन्द्र घलेले बताएका छन । उनका अनुसार दुई वर्षभन्दा माथीमा मानिसलाई यो औषधी खुवाइने छ ।

कार्यक्रममा जनप्रतिनिधीहरु, कार्यपालिका सदस्य शिवकुमार जायसवाल स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेल, विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech