काँग्रेस बाँकेद्वारा स्व. शुसिल कोइरालाको स्मृति दिवसमा रक्तदान

शाख न्यूज    प्रकाशित: २०७९-१०-२६ गते   २८८ पटक हेरिएको

नेपालगन्ज - संविधान पिता, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्व. शुसिल कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले आज नेपालगन्जस्थित पार्टी कार्यालयमा बृहत् रक्तदान कार्यक्रम गरेको छ ।

काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतिमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्र हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताएका छन् ।

कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै उनले संविधान जारी गर्न लिएको चट्टानी अडान सदैव नेपालीहरुले सम्झिरहने बताए ।

काँग्रेस बाँकेका सभापति गौडेलले स्वर्गीय कोइरालाले राजनीति, समाजसेवा र मानवीय सेवामा पुर्‍याएको योगदानलाई आत्मसाथ गर्दै काँग्रेस बाँके पनि रक्तदानसहितका मानवीय तथा सामाजिक कार्यहरु गर्दै आएको छ साथै पार्टीले आफ्ना कार्यक्रमहरुलाई सामाजिक र मानवीय सेवामा जोड्दै अघि बढेको बताएका छन् । पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको संचालन पार्टी सचिब सुधांशु कोइरालाले गरेका थिए ।

कार्यक्रममा मन्जु शाह, संगित रेग्मी, तेज ओली, सन्तोषी, अस्मित आचार्यसहित ६५ जनाले रक्तदान गरेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिएका छन्।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech