बाँके (राप्तीसोनारी) - लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी २ मदुईमा पुष्प खेती तालिम सोमबार देखि सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको सहयोग र लक्ष्मी माध्यमिक विद्यालयको व्यवस्थापनमा तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले विशुद्ध बाली विज्ञान अध्यनरत विद्यार्थीहरुलार्ई सिप सिकाउन तालिमको आयोजना गरिएको बताइन् । बाँकेमा फूल उत्पादन बजारको मागअनुसार हुन सकेको छैन । यहाँ उत्पादन हुने फूलले २० प्रतिशतमात्र स्थानीय बजारलाई पूर्ति गर्न सकेको थारुले बताइन् । उपाध्यक्ष थारुले भनिन्, हामीले अन्य जिल्ला र भारतबाट फूल आयात गर्छौं । यो तालिमले फूल उत्पादनमा वृद्धि गर्न सक्ने आशा लिएकी छु ।
त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर खत्रीले विद्यालयमा कृषि तर्फ अध्यनरत विद्यार्थीहरुलाई फूल खेती गने तरिका सिक्न टाढा जान नपरोस भनेर यहिँनै तालिमको आयोजना गरेको बताए ।
विद्यालयमा बाली विज्ञान अध्यनरत ५५ जना विद्यार्थीहरुलाई तालिममा सहभागी गराइएको छ ।
तालिममा उनीहरुलाई फूल खेती गर्न, बगैचा व्यवस्थापन र फूलको बजारीकरणका बारेमा प्रशिक्षण दिइएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यले बताए। कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षक सुनिल सलामी मगरले प्रशिक्षण दिएका छन् ।