बारा , २९ साउन - काठमाण्डौंको कमलादीमा १४ किलो नक्कली सुन बरामद प्रकरणमा फरार बाराका इल्ताफ हुसेन अंसारी पक्राउ परेका छन् । सुन प्रकरणमा प्रयोग भएको बा.६.च.५५११ नम्बरको गाडी अंसारी कै रहेको प्रहरीले जनाएकाे छ । प्रहरीले साँढे १४ किलो सुन लेपन गरेको चाँदी र दुई थान पेस्तोल बरामद गरेको थियो ।
सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाए पछि उनी स्कोर्पियो गाडी छाडेर अंसारी भागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट अंसारीलाई पक्राउ गरेको हो । सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल , कौशल पटेल , विजय पटेल , निलेश सखिया , ट्याक्सी चालक संदिप गुरुङ्ग , न्युरोडमा मोबाईल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ , न्युरोड कै सुन पसलमा काम गर्ने मनिष मल्लिक सहिँत प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियोे ।
घटनामा निर्दोष देखिएको जिल्ला सरकारी वकिलको कार्यालय , काठमाण्डौंले गुरुङ्गलाई छाड्न निर्देशन दिए पछि उनलाई थुना मुक्त गरिएको थियो , भने भारतीय नागरिक संजय पटेल फरार सूचीमा रहेका छन् ।
उक्त गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ । उक्त गिरोहका सदस्यहरुले चाँदीमा जलप लगाईएको र सुन भारतको राजस्थान लगेर ठूला व्यापारीलाई ठग्ने योजनामा रहेको प्रहरी स्रोतले जानकारी दिनुभयो ।
प्रहरीले घटना लगत्तै १५ किलो नक्ककली सुन जाँच गर्दा साँढे १४ किलो चाँदी र आधा किलो सुन भेटिएको थियो। निजगढबाट पक्राउ परेका इल्ताफलाई अहिले काठमाण्डौं लैजाने तयारी भएको छ ।