३  सय १ जना बालबालिकामा दादुरा संक्रमण, ८ जना आइसोलेशनमा

दादुरा संक्रमित भएका मध्ये २  सय ९२ जना निको

शाख न्यूज    प्रकाशित: २०७९-१०-१६ गते   २२५ पटक हेरिएको

नेपालगन्ज - बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुरा संक्रमण प्रकोपको रुपमा फैलिएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि देखिएको छ । बाँकेका अहिलेसम्म ३  सय १  जना बालबालिकामा दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेका ६ वटा पालिकामा गरी दादुरासंक्रमित बालबालिकाको संख्या ३  सय १  पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ  ।  हालसम्म दादुरा संक्रमित भएका मध्ये २  सय ९२ जना निको भइसकेका छन् भने ८ जना आइसोलेशनमा उपचाररत छन् । जिल्लाका ६ वटा पालिकामा दादुरा फैलिएको छ भने बैजनाथ र जानकी गाउँपालिकामा देखिएको छैन ।

सोमबार राप्तिसोनारी गाउँपालिका वडा नं २ मा १५ महिनाको बालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

महामारी प्रभावित पालिकाहरुमा दादुरा-रुबेला खोप अभियानलाई तीब्रता दिइएको छ । जस्का कारण दादुरा नियन्त्रणमा पनि आइरहेको छ । दादुराका कारण हालसम्म एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्ज , कोहलपुर , खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा गरी ३३ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका दादुरा, रुबेलाविरुद्धको खोप दिइएको छ । बाँकेबाट फैलिएको दादुरा छिमेकी जिल्लामा समेत फैलिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech