मंगलबार नेपालगन्जका र खजुराका ४७ खोप केन्द्रबाट दादुरा-रुबेला खोप लगाइँदै

शाख न्यूज    प्रकाशित: २०७९-१०-३ गते   २८० पटक हेरिएको

नेपालगञ्ज ३ माघ - मंगलबार नेपालगन्जका र खजुराका ४७ खोप केन्द्रबाट दादुरा-रुबेला खोप लगाइँदैछ ।

नेपालगन्जका १६ वडामा ३० र खजुराका ८ वडामा १७ खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आज वडा नम्बर २, ३, ६, ९, १०, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा कार्यालय समयमा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइँदैछ ।

यहाँका २३ वडा मध्ये बाँकी ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई समेत वडाका स्वास्थ्यकर्मीमार्फत 'खोज र खोप अभियान' सञ्चालनमार्फत दादुरा रुबेला विरुद्धको खोप सेवा प्रदान गरिनेछ । वडा नम्बर १, ४, ५, ७, ८, १४ र १५ मा खोप प्रगति ९५ प्रतिशत माथि छ ।

नेपालगन्जमा २२ हजार बालबालिकालाई दादुरा खोप लगाइएको छ । दादुरा-रुबेला खोप अभियान सञ्चालन गरेको एघारौं दिनसम्म ६ महिनादेखि १५ बर्षसम्मका २२०१० बालबालिकाहरुलाई खोप लगाइएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताए । 

पुस १२ गतेदेखि देखिएको दादुराबाट नेपालगञ्जमा हालसम्म १८९ बालबालिका संक्रमित भइसकेका छन् । यी मध्ये १३९ जना निको भएका छन् । ४९ जना होम आइसोलेसनमा छन् । एक जनाको मृत्यु भइसकेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech