आईतबार २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरण

शाख न्यूज    प्रकाशित: २०७९-९-२४ गते   २४६ पटक हेरिएको

बाँके २४ पुस - नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा आईतबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरण गरिएको छ । दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा गहन छलफल भएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा. सर्बेश शर्मा, परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका डा. पासांग राईसहितको टिम, युनिसेफका प्रतिनिधिहरुसंगै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत सरोकारवाला निकायका संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति थियो ।

त्यसक्रममा भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा.राजन पाण्डे र कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा।रोमा बोराले दादुरा(रुबेला विरुद्धको खोप लगाउने तरिका, भिटामिन ुएु खुवाउने तरिका, दादुराका बेला देखिने जटिलता समाधानार्थ खुवाउनुपर्ने लक्षण अनुसारका औषधि लगायतका विषयमा उपस्थित स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेका थिए । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले दादुरा प्रभावित स्थान र हालसम्म पहिचान भएको केशका बारेमा जानकारी गराएका थिए । श्रेष्ठका अनुसार हालसम्म नेपालगञ्जका ११ वटा वडामा ७६ विरामी फेला परेका छन् । खजुरामा पनि थप दुई केश भेटिएका छन् । दादुराबाट नेपालगञ्जमा एक जनाले ज्यान गुमाएका छन् । दुई दिनमा नेपालगन्जका ३ वटा वडामा १ हजार २ सय ५८ जनाले दादुरा (रुबेला) विरुद्धको खोप लगाएका छन् । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि भइरहेका गतिविधि र अख्तियार गरिएका रणनीतिबारे जानकारी गराउनुभएको थियो । चन्दले रोग पहिचान, उपचार, जनचेतनामूलक कार्यक्रमसंगै खोप अभियानबारे उपमहानगरपालिकाले गरिरहेका कार्यहरुबारे जानकारी दिएका छन ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डां. शर्माले अन्य ठाउँमा दादुरा फैलिन नदिन सबै एकिकृत ढंगले लाग्न तथा  खोप सुनिश्चितता घोषणा भएको अवस्थामा पनि यसप्रकारको प्रकोप फैलिनु चिन्ताको विषय रहेको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय सरकार सबै गम्भीर ढंगले यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन । 

छलफल तथा अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए । । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech