नेपालगन्ज २३ पुस - नेपालगन्जमा शनिबार थप २७ जना बालबालिकामा दादुरा देखिएको छ । महामारीका रुपमा फैलिएको दादुरा शनिबार वडा नं. ५ मा १ जना, वडा नं. ७ मा ११ जना र वडा नं. ८ मा १५ जनामा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।
योसँगै नेपालगन्जमा दादुरा प्रभावित बालबालिकाको संख्या ६३ पुगेको छ । अहिलेसम्म १ जनाको मृत्यु भइसकेको छ । नेपालगन्जका २३ वटा वडामध्ये १० वटा वडामा दादुरा फैलिएको छ । बालबालिकामा दादुराको महामारी फैलिएपछि चिकित्सकहरुले बालबालिकाको विशेष ख्याल गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेले प्रभावित क्षेत्रमा खोप अभियान तीब्र पारेको जनाएको छ । शनिबार थप ३ सय ८३ बालबालिकालाई दादुरा रुवेला खोप लगाइएको श्रेष्ठले बताएका छन् । त्यस्तै गरि खजुरा गाउँपालिका वडा नंं. २ मा १ जना बालकलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।
उहाँका अनुसार दुई दिनको अवधिमा १ हजार २ सय ५८ बालबालिकालाई खोप लगाइएको छ । ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाको पहिचान गर्ने र खोप लगाउने कार्यलाई तीब्रता दिइएको पनि श्रेष्ठले बताएका छन्